galeshwor-dham Director

अध्यक्ष अनुरोध

धवलागिरि अञ्चल, म्याग्दी जिल्ला सदरमुकामदेखि ३ कि.मि. उत्तर बे.न.पा. ९, मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको गलेश्वरधाम महादेवको मूलअंग स्वयं उत्पन्न ज्योतिर्लिङग हो । यो शिवलिङग मानव निर्मित नभई प्रकृति निर्मित भएकोले यति नै वर्ष पुरानो भन्न सकिदैन । यस धामको ऐतिहासिकता बारे शिवलिङग उत्पत्ति भएका विशाल चक्रशिलासँग जोडिन जान्छ । कुन कालखण्ड देखि शिवलिङग को पूजा आराधना सुरु भयो भन्नेबारे कतै उल्लेख भएको पाइदैन । महादेवले आफ्नो अर्धाङ्गिनी सतिदेवीको मृत शरीर बोकी कालि गण्डकिको तिरै तिर हिमालय पर्वत तर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गला पतन भएकोले यस शिवलिङग को नाम गलेश्वर रहन गएको भन्ने विश्वास गरिन्छ । गालव, पुलस्त्य, पुलहा, कपिलमुनि, राजा भरत, जडभरत र राजषिर् रहुगण आदि ऋषिमुनि हरूले गलेश्वरधाम क्षेत्रमा तपस्या, साधना गरी सिद्धि प्राप्त गरेको कुरा श्रीमद भागवत्, देवीभागवत, शिवमहापुराण र बराह पुराणहरूमा उल्लेख हुनुले गलेश्वरधामको इतिहास धेरै लामो भएको हुनुपर्दछ । गलेश्वरधाममा वर्षौंसम्म तपस्या र गायत्रीको साधना गरी अष्टसिद्धि प्राप्त गर्नुभएका स्वामी इश्वरानन्द “गलेश्वरबाबा” नामले प्रसिद्ध हुनुभएको हो । यो धार्मिक तिर्थस्थल पौराणिक, सांस्कृतिक र पर्यटकीय महत्त्व, अस्मिता एवं राष्ट्रको गौरव गलेश्वरधामको अध्ययन अनुसन्धान गरी समुचित संरक्षण, संभार र प्रचारप्रचार हुन नसकेका कारण विगतमा ओझेलमा परेको थियो । गलेश्वरधामको २०५३ सालदेखि क्रमिक रूपले भौतिक, सामाजिक, धार्मिक र आध्यात्मिक विकास गर्दै आजको स्थितिमा आइपुगेको सर्न्दर्भमा यस पुस्तकभन्दा अगाडि प्रकाशित गलेश्वरधाम दर्शन बु्सर र पुस्तिकाले गलेश्वरलाई स्वदेश तथा विदेशमा चिनाउन सहयोग पुगेका कारण गलेश्वरधाममा पूजा, अर्चना, आराधना, यज्ञ,यज्ञादि गर्ने भक्तजन, तिर्थयात्रीहरूको संख्या उल्लेखनीय वृद्धि हुदै भौतिक समाजिक, धार्मिक र आर्थिक विकासमा उल्लेखिय परिवर्तन भएको छ । तिर्थयात्री दर्शनार्थीहरूले गलेश्वरधामको ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्त्व र विकास व्यवस्थापनका बारेमा जिज्ञासा राखेअनुसार थप जानकारी गराउने उद्देश्यले गलेश्वरधाम सम्बन्धी लेखिएका पुस्तक, पत्रिका,  स्मारिका र आज सम्मको अनुभव र  विज्ञ व्यक्तित्व हरूको सल्लाह र सुझावअनुसार यो पुस्तिका प्रकाशन गरिएको हो । यसले पाठक वर्गमा गलेश्वरधामसम्बन्धी जानकारी गराउने विश्वास गरेको छु । पुस्तिकामा उल्लिखित कतिपय कुराहरूमा गल्ति, त्रुटी भएमा क्षमा याचना गर्दै यहाहरूको अमूल्य सुझाव र सल्लाह पाउने आशा राखेको छु । नेपालकै महत्वपूर्ण तिर्थस्थल गलेश्वरधामको महत्त्वबारे विज्ञ व्यक्तित्व, लेखक, इतिहासकार, धार्मिक विद्वान वर्ग, पत्रकार, विज्ञापनदाताहरूबाट लेख रचना, सहयोग र सल्लाहलाई समावेश गरी यो दोस्रो संस्करण प्रकाशन गरिएको छ । गलेश्वरधामको चौतर्फी विकास गरी विश्वकै महत्वपूर्ण धामको रूपमा स्थापित गर्न सबै क्षेत्रबाट तन मन धनले सहयोग पाउने अपेक्षा राखेको छु ।  धन्यवाद  रुद्र बहादुर कार्की , गलेश्वरधाम,म्याग्दी।